जनकपुरधाम, २८ जेठ । सर्लाहीमा आफ्नै मामाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।




लालबन्दी नगरपालिका–१७, रानीगञ्जका ४५ वर्षीय अशोक विकको हत्या गरेको आरोपमा उनका भान्जा लालबन्दी–११ हिरापुरका ३१ बर्षीय रवि विकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार रविको काकाको तरकारी बारीमा दुबै जना काम गरिरहेको बेला विवाद हुँदा रविले अशोकको टाउकोमा बाँसको भाटाले हिर्काएका थिए ।




भाटाबाट गम्भीर घाइते भएका अशोकलाई उपचारका लागि अस्पतालतर्फ लग्दै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । अहिले रविलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।















