काठमाडौं, असार २ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्डमा पर्ने रुवा खोलाको पुलबाट टिपर खोलामा खस्दा एक जनाको मृत्यु भएको छ । आज बिहान आँबुखैरेनी गाउँपालिका – ४ स्थित रुवा खोलाको पुलबाट टिपर खोलामा खसेको थियो ।




टिपर खोलामा खस्दा चालक तनहुँको म्याग्दे गाउँपालिका – ६ का करिब ४७ वर्षका रामबहादुर दमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । मुग्लिनबाट आँबुखैरेनीतर्फ गइरहेको ग १ क ४४६९ नम्बरको टिपर बिहान करिब साढे ४ बजे पुलबाट खसेर करिब ५० मिटर तल पुगेको थियो ।




टिपर खसेर गम्भीर घाइते भएका चालकलाई उपचारका लागि चितवनस्थित मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । टिपरमा चालकबाहेक अरू कोही भए नभएको खुलेको छैन । तीव्र गतिका कारण अनियन्त्रित भई टिपर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।















