काठमाडौं, असार १२ । गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा लागुपदार्थ दुर्व्यसनी चुनौतीको रूपमा अघि बढिरहेको बताएका छन् ।
आइतबार काठमाडौंमा भएको लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् । उनले लागुपदार्थ दुर्व्यसनका कारणले समाजलाई पनि गम्भीर असर पारेको बताए ।




मन्त्री खाँणले लागुऔषधको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको बताए । उनले युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने कुरा सरकार र समाज सबैको दायित्व भएको भन्दै लागुऔषध दुर्व्यसनलाई कम गर्न सरकार संवेदनशील रहेको बताए ।




उनले युवा पुस्ताको सुन्दर भविष्य निर्माणका लागि सरकारले आगामी दिनमा जन जागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपुस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा सचेत गराउनुपर्ने र दुर्व्यसनमा फसेका युवाहरुलाई सुधार्न अभियान थाल्नुपर्ने आवश्यक्ता रहेको पनि बताए ।
गृहमन्त्री खाणले विभिन्न अपराधिक गतिविधिहरु मध्येमा लागु पदार्थसँग सम्बन्धित अपराध झन्डै ८ प्रतिशत भन्दा बढी पुगिसकेको र लागुपदार्थ अपराधमा दोषी ६ हजार भन्दा बढी बन्दी कारागारमा रहेको उल्लेख गरे ।















