काठमाडौं । कोसीटप्पुबाट चित्तलको मासुसहित सिकारी पक्राउ परेका छन् । वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले श्रीलंका टप्पुस्थित भागलपुरबाट चित्तलको मासुसहित एक सिकारीलाई पक्राउ गरेको हो ।



पक्राउपश्चात् उनलाई सोधपुछ गर्ने क्रममा उक्त क्षेत्रबाट अन्य सिकारीलाई पनि नियन्त्रणमा लिइएको बताइएको छ । संयुक्त पट्रोल टोलीले एक स्थानीयको घरमा कर्डन गरी सर्च गर्दा अन्य सात जना सिकारी पक्राउ गरेको हो ।


उनीहरूको साथबाट जंगली जनावरको मासु ६३ केजी, भरुवा बन्दुक नाल–२, टिका बारुद प्याकेट–१, खुँडा गोटा–१, खुकुरी गोटा–४ लगायत सामग्री बरामद गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।








