रामजी प्रजापति
नवलपरासी, भदौ १८ । शुक्रबार बर्दघाट–५ बण्डाखोलामा लघु बित्त वित्तीय संस्थाबाट पीडित भएकाहरुको भेला सम्पन्न भएको छ । भेलाले लघु बित्त पीडितहरुलाई एकीकृत र संगठित गर्दै संर्घष उठान गर्ने निर्णय गरेको छ । उनीहरुले नव सामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर्न माग समेत गरे ।



कार्यक्रममा लघु बित्त संर्घष समितिकी केन्द्रीय सदस्य बिष्णु माया बुढाथोकीले लघु बित्तले बिपन्न परिवारलाई बिचल्लीमा पारेको बताउनुभयो । उहाँले लघु बित्तकै कारण महिलाहरुले आत्महत्या गर्नुपरेको उल्लेख गर्दै मिटरब्याज बिरुद्धको आन्दोलनलाई समेत जोडेर बृहत आन्दोलनको तयारीमा रहेको चर्चा गर्नुभयो । ‘लघु बित्तले धेरैको घरबार बिगारेको छ’ उहाँले भन्नुभयो–’हामीलाई लघु बित्तले सीप दिएन । चर्काे ऋण मात्र दियो । हामीलाई सीप दिन उसको चाहना थिएन । जसमा आर्थिक शोषण गर्ने नियत थियो ।’


कार्यक्रममा लघु बित्त संर्घष समिति नवलपुरकी अध्यक्ष नर्बदा रानाभाटले चर्काे ब्याजदरमा लघु बित्तले बिपन्नहरुको शोषण गरेको बताउनुभयो । उहाँले एक लाख ऋण दिदाँ १५ हजार काटेर ८५ हजार दिने गरेको बताउदैं लघु बित्तहरुलाई गाउँ गाउँबाट धपाउनुपर्ने बताउनुभयो । उहाँले लघु बित्त पिडितहरुको एकताबाट मात्र आन्दोलन उठान गर्न सकिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा लघु बित्त संर्घष समिति चितवनकी अध्यक्ष धनकुमारी बिकले कोरोनाले शिथिल बनाएका विपन्न समुदायको बाच्न पाउने अधिकारको समेत लघु बित्तले हनन गरेको बताउनुभयो । ‘संस्थाबाट लिएको ऋण तिर्नुपर्दैन भनेका छैनौ । कोरोनाले शिथिल भएका विपन्नहरुलाई चाडपर्व नभनी ढोकामा ढुक्छन् ।’ उहाँले भन्नुभयो –’हाम्रो पीडा सुनिदिने कोही भएन् । त्यसैले संर्घष अपरिहार्य छ ।’ आर्थिक मन्दीको चपेटामा परेका जनतालाई लघु बित्तले सडकमा ल्याएको विकको भनाई छ ।
उक्त कार्यक्रममा बिभिन्न लघु बित्तबाट आफू र आफ्नो परिवारमा भएको ज्यादती र दुर्व्यवहारबारे सहभागीहरुले रुदै सुनाएका थिए । बर्दघाट–४ दिब्यनगरकी लघु बित्त पिडित एकल महिला कमला थापाले नियमित रुपमा ब्याज तथा किस्ता तिर्दै आएपनि केही महिनाको ब्याज तथा किस्ता तिर्न नसक्दाँ आफू माथि समुहमै गाली बेइज्जती भएको बताउनुभयो । बर्दघाट–१२ की भटौलियाकी ईन्द्र कुमार रानाले लघु बित्तलाई ऋण तिर्दा तिर्दा आफू घरबारबिहीन हुनुपरेको दुखेसो पोख्नुभयो । ‘मेरो घर पनि गयो । अहिले कसैको घरभाडामा बसेकी छु ।’ रानाले भन्नुभयो ।
कार्यक्रममा पिडितहरु ईश्वरी माया छन्त्याल मगर , जगुमाया थापालगायतले लघु बित्तले पारेको बिचल्लीबारे आफ्ना गुनासो पोख्नुभएको थियो । भेलाले लघु बित्त संस्थाविरुद्ध २५ सदस्सीय बर्दघाट नगरस्तरीय संघर्ष समिति समेत गठन गरिएको छ ।
उक्त संर्घष समितिको अध्यक्षमा धनमाया तामाङ, उपाध्यक्षमा पबित्रा परियार, सचिवद्वयमा मुना कार्की र सीता सुनार, कोषाध्यक्षमा कुमारी धरिकार र सदस्यहरुमा रम्भा कुमारी चौधरी, आशा थारु, भगवती थारु, अप्सरा चौधरी, उर्मिला बानियाँ, ज्योति गुरुङ, बिष्णुमाया गुरुङ, ईन्द्रकुमारी राना, माया थापालगायत रहनुभएको छ ।
भेलाले नगरका १६ वटै वडामा संर्घष समिति विस्तार गर्दै दबाबमुलक कार्यक्रम गर्ने निर्णय गरेको जनाइएको छ ।








