काठमाडौं १५ असोज । काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवनमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका छन् ।



उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले डोजर आतंक बन्द गर, नेवा एकता जिन्दावाद, नेवा विरोधी होसियार जस्ता नारा लगाएका थिए । स्थानीय वासिन्दाले महानगरपालिकाको वडा नम्बर २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् । महानगरपालिकाले शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका हुन् । स्थानीय वासिन्दाको आन्दोलनमा समर्थन गर्न काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार सुमन साय्मी पनि पुगेका थिए । उनले काठमाडौं महानगरपालिकाले कानुन विपरीत काम गरिरहेको आरोप लगाए । स्थानीयले मसाल जुलुस निकाल्नुका साथै मेयर बालेन साहको पुत्ला पनि दहन गरेका छन् ।










