Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

महाकविको ११४औँ जन्मजयन्ती मनाइँदै

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • कार्तिक ७, सोमबार ०९:०७ बजे प्रकाशित

काठमाडौँ, कात्तिक ७ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भए ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्तरूपसँग तुलना गरेका थिए भन्ने मान्यता छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।

arkhala ads

विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका छन् । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरे । विसं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए । हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उनकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो । जसले विश्वविद्यालयको पूर्वाधारका लागि काम गरेको छ । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन मानिन्छ ।

तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आशु कवित्वको क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ । चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिकरुपमा पनि देवकोटा पनि सक्रिय थिए । यसका बाबजुद पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो । विसं २००२ मा किनेर २००४ सालमा देवकोटा सरेका मैतीदेवीस्थित घरलाई गत असोजदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रुपमा स्थापित गरिएको छ ।

महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरे । उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गरेका छन् । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् । देवकोटाको एकमात्र उपन्यास ‘चम्पा’ हो । नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो । महाकवि देवकोटा जयन्तीका अवसरमा गत शुक्रबारदेखि नै साताव्यापी कार्यक्रम भइरहेको छ । यस अवसरमा आज पनि विभिन्न कार्यक्रम गरी देशभर देवकोटा जयन्ती मनाइने जनाइएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved