काठमाडौ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको रौनक बिस्तारै देखिन थालेको छ । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु मतदाताहरुलाई आफ्नो पक्षमा पार्ने प्रयासमा लागिरहेका छन् । निर्वाचनको प्रचारप्रसार बिस्तारै हुन थालेको छ ।



मंसिर ४ गते बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदानको समय तालिका तोकिएको छ । मतदानमा देशभरका झण्डै दुई करोड मतदाता सहभागी हुने निर्वाचन आयोगको अनुमान छ । आयोगले वैदेशिक रोजगारमा गएका बाहेक सबैको मताधिकार सुनिश्चित गरेको जनाएको छ ।


आयोगले अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताको आधारमा मतदान गर्ने व्यवस्था मिलाएको पनि जानकारी दिएको छ । जसअनुसार दृष्टिविहीन, शारीरिक अशक्तता भएका वा अन्य कुनै कारणले आफैँले भोट हाल्न नसक्ने मतदाताले परिवारका एक जना सदस्यलाई सहयोगीको रुपमा लैजान पाउने छन् । त्यसका लागि मतदाताले मतदान अधिकृतसँग अनुमति भने लिनुपर्ने हुन्छ ।
मतदान अधिकृतलाई उपयुक्त लागेमा अनुमति दिने, अन्यथा मतदान अधिकृत आफैंले त्यस्ता व्यक्तिलाई मतदानमा सहयोग गर्ने आयोगले बताएको छ ।








