काठमाडौं, कात्तिक १६ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले इमानदार भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धि छलफल’ कार्यक्रममा बोल्दै मेयर शाहले कुनै पनि कामलाई सफल बनाउन स्वच्छ र इमानदार हुनुपर्ने बताए ।



उनले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन नहुने धारणा समेत राखे । जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरुपण गराउन भ्रष्ट आचरण भएकाहरुले बाधा अवरोध पुर्याउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने मेयर शाहले बताए । उनले भने, ‘नेपालमा के चलन छ भने ठूल्ठूला केसहरु फेरी मेलमिलापमै समाधान हुन्छन । स–साना केसहरु चाँही ५ वर्ष, १० वर्ष अदालतमा अड्किन्छ । त्यो हुनुहुन्न । एकदमै जघन्य अपराध भएका कुराहरुलाई पनि हामीले मेलमिलाप गरेर सल्टयाई दिन्छौं । त्यस्तो हुुनु हुँदैन । त्यो चाँही जुन अदालतमै जानुपर्ने, जुन एकदमै जघन्य अपराधमा पर्छ । जसका लागि सजायनै हुुनुपर्दथ्यो । त्यस्ता चिजहरुमा मेलमिलाप हुनुहुँदैन । त्यस्ता चिजहरुलाई सम्बन्धित निकायमै लैजानुपर्ने हुन्छ । यो केसमा कुनै पनि किसिमको भ्रष्ट आचरण आयो भने त्यो सफल हुन सक्दैन । त्यही भएर हामी स्वच्छ हुनुपर्दछ । हामी आफैंमा इमान्दार हुनु पर्दछ । हामी स्थानीय सरकार भएको हुनाले हाम्रो ठाउँ र नगरप्रति बफादार भयौं भने यसले निकै राम्रो काम गर्नेछ ।’


मेयर शाहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई निष्तेज पार्न सकिने बताए ।








