लमजुङ । डेङ्गु सङ्क्रमणका कारण लमजुङका पत्रकार २३ वर्षीया चाँदनी अधिकारीको मृत्यु भएको छ ।



चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । उनले भने, “सामान्य ज्वरो र बान्ताको समस्या देखिएपछि मङ्गलबार बेँसीसहरस्थित मोडल हस्पिटलमा भर्ना गरिए पनि समस्या बढ्दै गएपछि सोही दिन चितवन लगिएको थियो ।”


डेङ्गु सङ्क्रमण रहेको र निरन्तर बान्ताका कारण निधन भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । विगत डेढ वर्षदेखि लमजुङ सुन्दरबजार नगरपालिकास्थित रेडियो भोटेओडारमा कार्यरत थिइन् । मृतक अधिकारी प्रेस सेन्टर नेपाल लमजुङको सचिव, सञ्चारिका समूह लमजुङको सहसचिव थिइन् ।








