बुटवल, कार्तिक २१ । नेकपा एमालेका दुई पूर्वसहकर्मी नेताहरुको प्रतिस्पर्धा रहेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर १, मा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन कडा टक्करका साथ अघि बढेको छ । सबै उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित भएको दावी गरिरहेपनि नेकपा एमाले, राप्रपा र जसपाका उम्मेदवार छविलाल विश्वकर्माबाहेक अन्य उम्मेदवारलाई भने जित निकाल्न सहज देखिँदैन ।



स्थानीय निर्वाचन २०७९ मा प्राप्त गरेको मतलाई आधार मान्दा पार्टी छाडेर सत्ता गठवन्धनको समर्थन पाएका घनश्याम भूसाल भन्दा एमाले, राप्रपा र जसपाको साझा उम्मेदवार विश्वकर्माको मत निकै धेरै देखिन्छ । रुपन्देहीको क्षेत्र नम्बर मा १ लाख ३९ हजार ५ सय ६० मतदाता रहेका छन्। स्थानीय तह २०७९ निर्वाचनको मत परिणामलाई हेर्दा सत्ता गठबन्धनसँग नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीलगायतको प्राप्त मत जोड्दा करिब ४० हजार हुन आउँछ । यसैगरी नेकपा एमाले, राप्रपा र जसपाको प्राप्त मत जोड्दा करिब ५२ हजार रहेको छ।


रुपन्देहीको क्षेत्र नम्बर १ मा दुई गठबन्धन भन्दा बाहिर करिब ७ हजार मत रहेको पाइन्छ । यस पटकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई गठबन्धनका उम्मेदवारबाहेक अन्य दल र स्वतन्त्रको उम्मेदवारीसमेत रहेको छ। तत्कालीन नेकपा एमाले देवदहका अध्यक्ष रहेका टिकाराम चापागाईले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् । स्वतन्त्र उम्मेदवार चापागाईले समेत आफूले जित्ने दावी गरिरहेका छन् । दुवै गठबन्धनको मत आफूले प्राप्त गर्ने हुँदा आफ्नो जित सुनिश्चित रहेको चापागाईले दावी गरे । यता स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भूषालले सत्ता गठबबन्धनको समर्थन रहेकोले आफ्नो जित सुनिश्चित रहेको बताउँदै आएका छन् । तर स्वतन्त्र उम्मेदवार चापागाईंले भने नेकपा एमालेले टिकट नदिएपछि पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बनेका भूषालको जित्ने सम्भावना नरहेको दावी गो छन् ।
नेकपा एमाले, राप्रपा ‘जसपाका साझा उम्मेदवार छविलाल विश्वकर्माले सत्ता गठबन्धन भन्दा करिव १५ हजार बढी मतले आफूले जित निकाल्ने दावी गरेका छन् । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमाले पछि तेस्रो शक्तिका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी र चौथो शक्तिका रुपमा जनता समाजवादी पार्टीको रहेको छ। यी तथ्यगत आधारलाई हेर्दा पनि नेकपा एमाले नेतृत्वको साझा उम्मेदवारहरुको पल्ला भारी रहेको छ। यसैगरी रुपन्देहीको क्षेत्र नम्बर १ (१) मा नेपाली कांग्रेसका विश्वनाथ यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका आशिषकुमार चौधरी प्रतिस्पर्धामा उत्रिएका छन् । दुवै उम्मेदवारले निर्वाचन आफ्नो पक्षमा रहेको दावी गरिरहेका छन् ।
२०७९ को स्थानीय तहको प्राप्त मतलाई आधारमान्दा १ (१) मा सत्तागठबन्धनको पक्षमा करिव २० हजार मत रहेको छ भने नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त प्यानलसँग करिब २८ हजार मत देखिएको छ । त्यसैगरी क्षेत्र नम्बर १(२) मा नेकपा एमालेका दधिराम न्यौपाने र नेपाली कांग्रेसका अब्दुल रज्जाकले पनि जित सुनिश्चित रहेको दावी गरिरहेका छन् ।
स्थानीय तहको निर्वाचनमा प्राप्त मतलाई आधार मान्दा सत्तागबन्धनको तुलनामा एमाले बलियो रहेको पाइन्छ । क्षेत्र १ ( २ ) मा सत्ता गठबबन्धनको करिव २० हजार मत रहेको छ भने, एमाले, राप्रपा र जसपाको करिव २४ हजार मत रहेको छ । स्थानीय तह २०७९ मा यस क्षेत्रका राजनैतिक दलहरुले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने नेकपा एमाले, राप्रपा र जसपाको साझा उम्मेदवारको मत बढिरहेको देखिन्छ ।
स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईं र अन्य उम्मेदवारहरुले दुवै गठबन्धनको समान मत पाउने राजनीतिक विश्लेषकहरुको भनाइ रहेको छ । नेकपा एमालेको संगठन मजबुत भएको र पछिल्लो समय राप्रपाका मतदाता बढेकाले यसपटकको निर्वाचनमा पनि एमाले-राप्रपा र जसपाको गठबन्धनकै उम्मेदवारहरुले जित निकाल्न सक्ने सम्भावना बढेर गएको छ ।








