काठमाडौं, कात्तिक २९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेबिरुद्ध उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ ।



लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो । उनीविरुद्ध राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।


मंगलवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका उपन्यायाधिवक्ता वाग्लेले उम्मेदवार लामिछानेबिरुद्धको उजुरीपछि कानुनी व्यवस्था अनुसार प्रतिनिधि प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरेको बताए ।
उनले निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने पनि बताए ।








