डडेलधुरा, कात्तिक ३० । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज गृहजिल्ला डडेलधुरा जाँदै छन् । देउवाले आज डडेलधुराका तीन र बैतडीमा एउटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस डडेलधुराले जनाएको छ ।



आज बिहान धनगढीबाट प्रधानमन्त्री देउवा डडेलधुरा पुग्ने र ११ बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजित कांग्रेससहित गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । कांग्रेस डडेलधुराका सचिव हेमराज चटौतका अनुसार देउवा बुधबार बिहान गृहजिल्ला आइपुग्ने र साढे ११ बजे भागेश्वर गाउँपालिकाको बोगटामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


अजयमेरु गाउँपालिकाको देवल, बैतडीको शिवनाथ गाउँपालिका र डडेलधुराको गन्यापधुरा गाउँपालिकाको सकायलमा आजै हुने चुनावीसभालाई पनि सभापति देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । भोलि अछाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको कांग्रेसले जनाएको छ ।
यसअघि १७ कात्तिकमा गृहजिल्ला पुगेका देउवा चार दिन बसेका थिए । सो क्रममा उनले सात पालिकाका सातवटा चुनावी सभालाई सम्बोधन गरेका थिए । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देउवासहित डडेलधुरामा ८ जना उमेदवार छन् ।








