काठमाडौं, मंसिर १ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि स्थिर समय आज राति १२ बजेदेखि सुरु हुने बताएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर ४ गतेको ४८ घण्टाअघि ‘समय स्थिर’ सुरु हुन्छ ।



यस अवधिमा चुनावी प्रचारप्रसार गर्न पाइने छैन । केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका भण्डारीले एक भिडियो सन्देशमार्फत् उक्त जानकारी दिएका हुन् । यसअघिका निर्वाचनमा सो समयलाई ‘मौन अवधि’ भन्ने गरिए पनि त्यसको सट्टा ‘शून्य समय’ भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टालाई ‘स्थिर समय’ मानिनेछ ।


निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ अनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सम्बन्धित कुनै पनि कार्यक्रम गर्न पाइँदैन । यो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइए ‘निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने’ जनाइएको छ ।
यसैगरी, आसन्न निर्वाचनमा मतदान केन्द्रभित्र मोबाइल तथा क्यामेरा लैजान पाइनेछैन । आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशनसमेत जारी गरेको छ । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम निर्देशन गरिएको छ । निर्देशनअनुसार मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिले सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा निषेधित वस्तु लैजान पाउने छैनन् ।
निषेधित वस्तु लिइआएको पाइए प्रचलित कानुनबमोजिम तत्काल कारबाही वा मतदान केन्द्र प्रवेश बिन्दुमा राख्ने व्यवस्था मिलाइनेछ । मतदान केन्द्रबाहिर ‘निज’लाई उपयुक्त लागेको स्थानमा राख्न लगाएर प्रवेश अनुमति दिइने भएको छ । निर्देशनमा ‘कसैले फोटो खिच्ने क्यामरा वा मोबाइल साथमा लगी मत संकेत गर्ने स्थान मतदान कक्षमा गएमा तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत हुने’ उल्लेख छ ।
प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९, निर्वाचन आचारसंहिता, २०७९ विपरीत उल्लिखित कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई सोबारे जानकारी गराउन निर्देशन दिइएको छ ।








