रुपन्देही, मंसिर ५ । रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा मतगणना सुरु भएको छ । रुपन्देहीको भैरहवास्थित नमुना उच्च माध्यमिक विद्यालयमा दिउँसो २ बजेदेखि गणना सुरु भएको हो ।



क्षेत्रको मायादेवी वडा नम्बर ७ र ८ को प्रतिनिधिसभा तर्फको मत गणना सुरु भएको रुपन्देहीको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए । उनका अनुसार रुपन्देही ३ प्रतिनिधि सभा र ३(१) प्रदेशसभा प्रत्यक्ष तथा समानुपातिकतर्फको गणना सुरु भएको हो ।


रुपन्देही-३ बाट प्रतिनिधिसभामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव गृहमन्त्री बालकृष्ण खाँण र राप्रपाका वरिष्ठ नेता दिपक बोहरासहित २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । ४६ वटा मतदान स्थल रहेको रुपन्देही-३ मा १ सय ४६ वटा मतदान केन्द्र छन् ।
१ लाख ३२ हजार ७ सय ९१ मतदाता रहेकोमा यस क्षेत्रमा ९२ हजार ९ सय ७२ (७०.५%) मत खसेको रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।








