महोत्तरी, मंसिर २८ । घरेलु हिंसा र दाइजोविरुद्धको मुद्दा परेका महोत्तरी रामगोपालपुर–५ का डा पंकज चौधरी पक्राउ परेका छन् । पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकालेको जाहेरीका आधारमा महोत्तरी प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।



अहिले उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ । श्रीमान् चौधरीविरुद्ध नेहाले एक साताअघि महोत्तरीको जलेश्वरस्थित जिल्ला अदालतमा घरेलु हिंसा र दाइजोविरुद्धका दुई मुद्दा दायर गरेकी थिइन् । तीन वर्षको प्रेम पश्चात गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच सामाजिक परम्परा अनुसार विवाह बन्धनमा बाँधिएका थिए ।


विवाह भएको केही दिन नबित्दै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरु गरेको नेहाको आरोप छ ।








